बाँकी बिस्तारै मिल्दै जाला !
“बाबु तिमी ठूलो भएपछि के बन्ने ?”
सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न गरिहालेमा प्रत्युत्तरमा ऊ मौन भै बसिदिन्थ्यो या त थोरै मुस्कान फ्याँकिदिन्थ्यो । बाँकी केही बोल्थेनँ, अहँ केहि बोल्थेन ।
ऊ प्रायः एकान्त मै बस्न रुचाउँथ्यो । भीडमा ऊ रमाउन सक्दैनथ्यो, एक्लै बस्थ्यो । दूब्लो शरीर भएकाले भारी काम गर्न सक्दैनथ्यो । आमा बाबुले पनि कहिल्यै भारी काम गर्न लगाउँदैनथिए । “यस्तो ख्याउटे छ यसले के गरी खाला खै, पछि गएर मोटायो भने त ठीक छ होइन भने त बिचरा के गर्ला र खोई !” कहिलेकाहिँ आमाबाबुले दया गर्दै भन्थे । ऊ घरदेखि बाहिर त्यति जाँदैनथ्यो । घरमै बसेर कहिले के कहिले के गरिरहन्थ्यो । फोटो हेरेर चित्र कोथ्र्यो र फोटोसँग दुरुस्त बनाउने प्रयासमा लाग्थ्यो । कहिले कापीमा केही लेखेर बसिरहन्थ्यो । अन्तिममा चित्त नबुभ्mदो हो सायद जति लेख्थ्यो ती पानाहरु च्यातेर प्mयाँक्थ्यो । अध्ययनमा मेधावी नै मानिन्थ्यो ऊ । स्कूलमा मास्टरहरुले पनि यो केटो चलाख छ भन्थे । घरमा आएका ठूलाबडाहरुले पनि ऊसको आमासँग बसेर उसको चलाखीको बयान गर्थे, ऊ मुसुमुसु हाँसिदिन्थ्यो र मख्ख पथ्र्यो ।
घरमा एउटी बुढी हजुरआमा, आमाबाबु, ऊ भन्दा ५ वर्ष जेठो दाजु र २ वर्ष कान्छो भाई मात्र थिए । आम्दानीको श्रोत बाबुको नोकरी मात्र थियो । घर थियो, अनि थोरै जग्गा । कहिलेकाहीँ चामल पनि बेसाउनुपथ्र्यो । बाबु एउटाको नोकरीले तीन भाई छोराहरुको पढाई, घरखर्च र अन्य खर्चहरु येनेकेन पुग्थ्यो । नपुगेर पनि के नै गर्नु थियो र । बाबु घर आएका बेला कहिलेकाहिँ आमासँग “रातदिन अर्काको देशमा पसिना बगाएर काम गर्दा पनि किनारा लाग्न सकिएको छैन” भन्दै रुने गर्थे । बाबु रोएको देख्दा ऊ पनि रुन्थ्यो र ऊसका दाजुभाई पनि रुन्थे । ऊ त्यतिबेला ६ कक्षामा पढिरहेको थियो । एकदिन आमाले खाना खाईरहँदा तीन भाईलाई एकैठाउँमा राखेर भनिन्– “बाबु, घरको अवस्था दिनानुदिन कमजोर हुँदै गइरहेछ, बुबा एक्लैले कताकता मात्र भ्याउने हो खोई, तिमीहरुको पढाई, घरको खर्च, ऋण तिर्न सबैतिर उहाँ एक्लैले कसरी सक्ने हो खोई । यस्तै छ बाबुहो अब आफै विचार गरेर अगाडि बढओ है ।”
प्रायः तीन भाई छोराहरु खाना खाने समयमा मात्र एकैठाउँमा हुने भएकाले आमाले पनि प्राय त्यही बेला घरको अवस्था छोराहरुलाई भन्ने गर्थिन् । त्यसो त त्यतिबेला छोराहरुलाई भनेर छोराहरुले के नै गर्न सक्थे र तैपनि बिलौना अरु कोसँग गएर पोख्नु र आमाले पनि । हरेकपटक घरको अवस्थाको बारेमा आमाले बताईरहँदा दाजुभाईको मनमा के हुन्थ्यो कुन्नि ! तर ऊ भने अलि गम्भीर हुने गथ्र्यो । टोलाईरहन्थ्यो, खानामा मन लगाउदैनथ्यो । ऊ सोच्थ्यो – “चिन्ता नगर आमा, बेला आउँदैछ, म ठूलो भएपछि कमाउछु, दाई र भाइ ले पनि कमाउछन्, अनि हामी सुखी हुने छौँ । खाना खानेबेलामा यस्तो उस्तो भनेर भनिरहनु पर्दैन । चिन्ता नगर आमा चिन्ता नगर” खाना खाएर टुकी बालेर केही क्षण लेखपढ गथ्र्यो र ओछ्यानमा पल्टन्थ्यो । निद्रा त के लाग्थ्यो र कोल्टो फेर्दै अनेक कुराहरु सोचिरहन्थ्यो ।
पुसको महिना, चिसो बढिरहेको थियो । सक्नेहरुले ज्याकेट, स्वीटर, जुत्ता लगाएका थिए । ऊ ९ वर्षे बालक ऊसलाई पनि चिसो लाग्थ्यो नै । तैपनि आमाको थोत्रो पछ्यौरा या तीन चार ठाउँमा टालेको स्वीटर लगाउँथ्यो । ऊसलाई पनि ज्याकेट, नयाँ स्वीटर, जुत्ता लगाउने रहर जाग्थ्यो, त्यसो त ऊसको दाजु र भाईलाई पनि यस्तो रहर नजाग्ने त होइन । तर जागेर मात्र के गर्नु । एकदिन त ऊसले बेलुका खाना खाईसकेपछि आमालाई भन्यो पनि– “आमा, यसपालि बुबाले पैसा पढाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिनुहोस् है” ऊसको यस्तो अनुरोधले आमालाई करुणा जागेर आयो छोराहरुप्रति र आफै प्रति पनि । त्यसो त ऊनिहरुको ज्याकेट र जुत्ता नलगाएको जाडोको एउटा याम हैन कैयौँ याम बितिसकेका थिए । आमाले ऊसलाई शान्त पार्दै भनिन्– “हुन्छ बाबु, बुबाले अब छिट्टै पैसा पठाइदिनुहुन्छ अनि तिमीहरु तीनै भाइलाई ज्याकेट, जुत्ता किनिदिउँला है, जाऊ अहिले गएर सुत ।” आमाको मुखबाट यो वाक्य सुनेपछि ऊसको बालापन खुशी भयो र ऊ उफ्रिँदै ओछ्यानमा गयो, आमाले आँशु पुछिन् र भनिन्–“बिचरा मेरा छोराहरु, कहिले फिर्ला यिनीहरुको दिन ?”
भाई भर्खर मात्र निदाएको थियो । एकछिन त ऊसले भाईलाई उठाएन तर पछि भने बिस्तारै साउतीको स्वर झिक्यो– “बाबु, ए बाबु, भाई उठ् न तँलाई एउटा कुरा भन्छु के”, “हँ, के ?” भाईले उठेर सोध्यो । ऊसले बोलीमा खुशी मिसाउँदै भन्यो– “थाहा छ यसपालि बुबाले पैसा पठाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिने रे, आमाले भन्नुभाको ।” “ए हो र ?” भाई पनि खुशी भयो । अनि यस्तैमा उनीहरु दुवै निदाए ।
केही दिन पछि बाबुले पैसा पठाईदिए । तर पैसा घरमा आउनुभन्दा अघि नै साहूहरु घरमा आइसकेका थिए । पैसाले एकदिन पनि घरमा बास पाएन । आउनासाथ नै सकियो । आमाले मन थाम्न सकिनन् र कोठामा गएर रुन थालिन् । पछि आफूलाई थामेर घरको कामकाजमा लागिन् । बेलुका खाना खाने बेलामा तीनै छोराहरु जम्मा भए । छोराहरुलाई के थाहा आज बाबुले पठाएको पैसाले घरमा बास पाएको छैन भन्ने, उनिहरु त सोचिरहेथे कि अब ज्याकेट र जुत्ता लगाउन पाइने भइयो । आमाले बिस्तारै भनिन्– “बाबु, बुबाले पठाएको पैसा सबै साहूहरुलाई बुझाए, यसपालि पनि तिमीहरुलाई ज्याकेट र जुत्ता किनिदिन नसक्ने भए ।” यति भनेर आमा रुन थालिन् त्यहि अनि छोराहरु पनि ।
एकछिन रोइसकेपछि ऊसको दाजुले भन्यो, – “भैगो आमा नरोऊ, हामीलाई अहिले ज्याकेट र जुत्ता चाहिँदैन । कमाएर नै लगाउँला । म अब पढ्दिन, बाटो खर्च खोजिदेऊ म कमाउनु जान्छु, अब म पढ्दै पढ्दिन” । ९ कक्षामा पढ्दै गरेको दाजु पढाई छाडेर कमाउन हिड्यो । त्यसैबखत ऊसले पनि सोच्यो, “दाई गयो अब म पनि जान्छु, म पनि पढ्दिनँ ।” तर ऊ दाजु भन्दा अलि सानै थियो र पढाईमा पनि अलि तीक्ष्ण नै भएकाले आमा र दाजुले ऊसलाई एसएलसी सम्म गर बाँकी त्यसपछि जे जे गरे नि गर्लास् भने । अन्ततः यसरी नै बाँकीका केही वर्षहरु पनि बिते ।
ऊसको एसएलसीको परीक्षा पनि आयो । परीक्षा सकेर घर आयो । त्यो दिन ऊ आफूलाई पूर्ण रुपमा स्वतन्त्र महसुस ग¥यो । बेलुका खाना खाएर केहिबेर आमासँग बस्यो । भाई पनि सँगै थियो । केहिक्षण पश्चात् आमालाई भन्यो– “आमा म अब एसएलसीको परीक्षा पनि सके अब म भोलि बिहानै काम खोज्न जान्छु, र जे भएपनि काम गर्छु है ।” यद्यपि ऊ अवस्था राम्रो भइदिएको भए बाँकी अध्ययन पनि गर्न चाहन्थ्यो तर त्यो सम्भव थिएन । ऊसले त्यस्तो भनिरहँदा आमा आश्वस्त भइन् भलै ऊ तत्कालै केही गर्न नसकोस् । भाई पनि दाजुको कुरा सुनेर ऊसको र आमाको मुखमा पालैपालो हेरिरह्यो ।
भोलिपल्ट बिहानै ऊ काम खोज्न हिँड्यो । बेलुका फर्कँदा ऊसको अनुहारमा नैराश्यता, थकान र आशाका किरणहरु देखिन्थे । जसलाई हेरेर आमालाई यथार्थ बुभ्mन समय लागेन, आखिर आमा न हुन् । आयो हातमुख धोयो र पिँढिमा बस्यो । आमाले सम्झाउँदै भनिन्– “बाबु धेरै चिन्ता नलेऊ, बिस्तारै सबै ठीक हुँदै जान्छ, तिमी जे गर्न सक्छौ र जे गर्दा तिमीलाई खुशी मिल्छ त्यहि गर बाबु, आप्mनो बलबुत्ताले भ्याएसम्म कोशिष गर्नदेखि पर नभाग, बाँकी बिस्तारै मिल्दै जान्छ बाबु ।”
भोक, प्यास र निद्राको आशक्ति हराउँदै गएको ऊ सजिलै पछि हट्ने मनस्थितिमा थिएन । सोच्थ्यो– “एक दिन कसो दिन नआऊला र, कति दिनसम्म यसरी बस्नु पर्ला र आखिर म पनि छोरो मान्छे हुँ । छोरो मान्छेको भाग्य सृष्टीकर्तालाई पनि थाहा हुँदैन भन्छन् ।” अनि हराएझैँ लाग्ने मनोबल पुनः पाउँथ्यो । ऊसको कोशिषको क्रम एकदुई दिन होइन हप्तौसम्म चलिरह्यो । सधैँ कहिँ न कहिँ गइरहन्थ्यो तर काम कतै पनि पाउन सक्थेनँ, काम नै नभएको ठाउँमा कसैले काम दिन पनि कसरी सकुन् र । आखिर सबै ऊस्तै त हुन् यहाँ । भिन्नजस्ता त लाग्ने मात्र हुन् । सानै छस् बाबु अहिले नै कमाउन तिर नलाग, तेरो पढाई राम्रो छ, बाँकी पढाई पनि गर भन्नेहरु धेरै थिए । उनीहरुको भनाई गलत थिएन तर अवस्था अनुकुल थिएन ऊसको लागि । समय ऊसको हातमा थिएन, समयको पर्खाललाई ऊ तोड्न सक्थेँ, समय सधैँ आप्mनै गति सधै एउटै हुन्छ, त्यो कहिल्यै पनि मत्थर हुँदैन । समयभन्दा ढिलो हुने मनस्थिति थिएन, छिटो हुने अवस्था थिएन अतः ऊ समयकै गतिमा बग्न बाध्य थियो । त्यसो त ऊ पछि गएर राम्रैसँग फक्रन सक्ला, या त फक्रनै नसक्ला त्यत्तिकै झरेर जाला ! भवितव्य कसले जान्या छ र !
ऊसका लागि यताउता सोधखोज गरिदिने मान्छेहरु पनि एकदुई जना थिए । उनिहरु पनि कोशिष गरिनै रहेका थिए क्यारे ! एकदिन बेलुका गाउँकै एकजनाले सहरबाट फोन गरे, “शहरमा एउटा काम पाइएको छ, काम सजिलो छ, कामअनुसारकै तलब दिन्छन् । घर सल्लाह गरेर आऊ” यति भनेर फोन काटियो । यसपछि ऊसलाई त्राण आयो । त्यसैदिन बेलुका आमासँग सल्लाह ग¥यो । आमाले पनि नजा बाबु भनिनन् । भन्नु पनि कसरी अब अगाडि पढाउन सकिदैन, घरमा राखेर खर्च जुटाईदिन पनि सकिदैन । ऊसँग केही थिएन, जोश थियो, इच्छाशक्ति थियो, बाध्यता थियो । परिस्थितिले सिर्जना गरेको बाध्यतासँग ऊ सामना गर्न चाहन्थ्यो । बाटो खर्च को चाँजोपाँजो मिलेपछि, झोलामा दुईजोर कपडा, र अन्य केही आवश्यक सामानहरु कोच्यो र कोच्यो सपना र आशालाई पनि, अनि भोलिपल्ट बिहानै सहरतिर लाग्यो..... हो ऊ कमाउन सहर पस्यो । बाँकी बिस्तारै मिल्दै जाला !
सुमन पछाई
काठमाडौँ, नेपाल ।
फाल्गुण २७, ०६९
No comments:
Post a Comment